विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा, प्रतिकेजी १ सय २५ रुपैयाँमा बिक्री हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माविमा प्राविधिक धार कक्षा (९-१२) मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमासमेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिएका छन् । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ । विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका हुन् ।

सो विद्यालयका प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी रु १ सय २५ मा बिक्री वितरण हुँदै आएको छ । ‘विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ । विद्यार्थीलाई आवश्यक कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउछौँ’, प्रधानाध्यापक खत्रीले भने । विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाईसमेत सिकाउने गरेको  खत्रीको भनाइ छ ।

त्यसैगरी गत माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् । एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दीपेश थापाले बताएका छन् । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ ।

नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा त्यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायत उपज फलाउने गरेका छन् । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्