नेशनल टी-२० च्याम्पियनसिप: सुदूरपश्चिम प्रदेशको टोली घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेशनल टी-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा सुदूरको टोली घोषणा गरिएको छ । विराटनगरमा यही फागुन २२ गतेदेखि सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको हो ।

हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिएका छन् । उनका अनुसार टोली उपकप्तानमा दीपक बोहरा, अन्य सदस्यमा दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशी रहेका छन् । साथै, विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका जोशीले जनाएका छन् ।

त्यसैगरी धनगढीको फाप्ला मैदानमा तीन दिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ । नेपाल ‘ए’ समूह, यु-१९ विश्वकप, प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितको टोली रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष जोशीले बताएका छन् । क्रिकेट सङ्घ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ । तीन विभागीय र सात प्रदेशस्तरीय टिमको सहभागिता रहने खेल आगामी चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै, सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । उपाधि विजेता टिमले ट्रफिसहित रु ५ लाख र उपविजेताले रु ३ लाख नगद पुरस्कार पाउने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्