चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई बिहीबार प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो ।

अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्‍याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधबार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिएका छन् । अर्याललाई काभ्रे जिल्ला प्रहरी कार्यालय पठाइएको रिजालको भनाइ छ ।

त्यस्तै, अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नायव सुब्बाको रुपमा कार्यरत थिए ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा कार्यरत थिए ।

त्यसैगरी दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । यस्तै, उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्