काठमाडौँ महानगरमा कुष्ठरोगका १ सय १० बिरामी फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका १ सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले महानगरभित्र कुष्ठरोगका १ सय १० बिरामी फेला परेका हुन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९-८० मा महानगरभित्र उक्त संख्यामा कुष्ठरोगका बिरामी फेला पारेका हुन् । महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिएका छन् । कुष्ठरोग समयमै पहिचान गर्नसके औषधि सेवनबाट निको हुने उनको भनाइ छ ।

संस्थाले बिहीबार काठमाडौँ महानगरपालिका-२६ मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत:श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ’, निर्देशक सिंहले भने । एनएलआरले हालसम्म कामपा-१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आगामी दिनमा वडा नं ६, ७, ८, ९ र १७ वडामा उक्त कार्यक्रम सञ्चालन गरिने सिंहले जनाएका छन् ।

यस्तै, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापितले आर्थिक वर्ष २०७९-८० मा देशभर २ हजार ५ सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा ९ सय ४४ रहेका छन् । काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य कुष्ठरोगको बारेमा जनचेतना जगाउने र समुदायमा रहेको भ्रम हटाइ सामाजिक लाञ्न्छनाको गलत धारणा परिवर्तन गर्नु रहेको मुख्य प्रशिक्षक गोपाहरि पोखरेलको भनाइ छ ।

एनएलआरले पहिलो चरणमा काठमाडौँका विभिन्न १० वडाका ३ सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्