साताको सेयर बजार: तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि !

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) ७० अङ्कले बढेको हो ।
साताको पहिलो दिन आइतबारको कारोबारपछि १ हजार ९ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार २००३.५६ को बिन्दुमा पुगेको छ ।सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक ११७.७० अङ्क अर्थात् ६ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मंगलबार भने उच्च अङ्कको गिरावट देखियो ।
त्यस्तै, मंगलबार नेप्से परिसूचक ७०.३१ अङ्कले घटेर २००७.६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार ९.३३ र बिहीबार १.५१ अङ्कले बढेको थियो । यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको ३ करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ । आइतबार रु २ अर्ब ५ करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार ६ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार नेप्सेमा सकरात्मक सर्किट लागेकोमा रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको ९ लाख २० हजार ३ सय ९९ कित्ता सेयर मात्रै किनबेच भएको हो । मंगलबार रु ४ अर्ब ४ करोड ५२ लाख ८२ हजार ७ सय ५४ बराबरको १ करोड ४ लाख २ हजार ९ सय ४० कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार रु ३ अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार २ सय ५५ कित्ता र बिहीबार रु २ अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार ४ सय ५२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्