काठमाडौँ । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ बर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ बर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ वर्ष रहेको छ । त्यसैगरी सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ । जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो ।
यस्तै, इजरायलमा सन् २०२२ मा करिब १ लाख ७७ हजार २ सय महिलाले बच्चा जन्माएका थिए । इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो ।
यसैगरी सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् ।