अमिलो, उखु र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् ।

ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल लोप हुन थालेका पाको पुस्ताका ज्येष्ठ नागरिकको भनाइ छ । बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका मालिका गाउँपालिका-६ का ७४ वर्षीय टीकाजित पुनको भनाइ छ ।

एकताका तेल र घीउमा आत्मनिर्भर मानिने म्याग्दीको पश्चिमी क्षेत्रमा अहिले तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । ‘पहिला जिल्लामा प्रशस्त मात्रामा उखु, तोरी र अमिलोखेती गरिन्थ्यो, जङ्गलमा प्रशस्तै चिउरी फल्थ्यो, चिउरी पेलेर पनि तेल निकालिन्थ्यो’, पुनले भने, ‘अहिले त मान्छेले तेलबाली पनि लगाउन छाडे, कोल हराइनै सके ।’ उनका अनुसार हिउँदयामका दिन फुर्सदिला हुने भएकाले कोलमा प्रत्येक परिवारले उखु र तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको उनी बताउँछन् । ‘अलिअलि बेचेका कोल पनि प्रयोगविहीन छन्’, मङ्गला गाउँपालिका-२ का ७९ वर्षीय भीमबहादुर सेनले बताएका छन् ।

यस्तै, जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले उखु र अमिलो पेल्ने कोल हराउँदै गएका उनको बुझाइ छ । उनका अनुसार कोल प्राय:सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो । विगतमा जिल्लाभरि सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका उनी बताउँछन् । दुर्गम गाउँमा रहेका एक-दुई कोल पनि विस्तारै प्रयोगविहीन छन् । कोल लोप भएसँगै जिल्लामा तेलहन बालीको खेती लगाउनेको सङ्ख्या पनि घट्दै गएको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हुँदै गएका ज्येष्ठ नागरिकको भनाइ छ ।

त्यसैगरी धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हुँदै गएका बेनी नगरपालिका-४ का भक्तिराम पौडेलले बताएका छन् । ‘ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन्’, उनले भेन, ‘पानीबाट चल्ने पानीघट्ट पनि विस्थापित भइसकेका छन् ।’ त्यस्तै, कोल मात्र होइन, कुटानी-पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन् । ढिक्की, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदै गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । ब्याट्री र विद्युत्बाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदै गएको स्थानीय डेकबहादुर सिउथानीले जानकारी दिएका छन् ।

जनजाति समुदायले प्रयोग गर्दै आएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदै गएको उनको भनाइ छ । पुर्खाले प्रयोग गर्दै आएका घरेलु मेसिन लोप हुँदा आधुनिक मेसिनको आयात बढेको सिउथानीले जनाएका छन् । केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्णरुपमा लोप हुने र पूरै आयातीत मेसिनबाट गाउँ भरिने पुराना पुस्ताको चिन्ता छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्