‘सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउनेछ’: मन्त्री भण्डारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा शुक्रबार उद्योग वाणिज्य कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठनलगायत कानुन निर्माण गर्ने जनाएका छन् । ‘उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ’, मन्त्री भण्डारीले भने, ‘उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ ।’ उक्त सिलसिलामा स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने उनको भनाइ थियो ।

त्यस्तै, मन्त्रालयले अनुचित मूल्य वृद्धि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने मन्त्री भण्डारीले उल्लेख गरेका छन् । कार्यक्रममा सहभागी उपभोक्ताले सीमानाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न माग गरेका थिए । साथै, बाँकेमा वस्तु खरिद बिल उपभोक्तालाई दिलाउन व्यापारीलाई बाध्य पार्नेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् । १ सय रुपैयाँ भन्दा माथिको वस्तु खरिद गर्दा भन्सार तिर्नुपर्ने राज्यको व्यवस्था हुँदाहुँदै पनि ठूला व्यापारीले त्यसको कार्यान्वयन गर्दैनन् भन्दै मन्त्री भण्डारीसमक्ष धेरै उपभोक्ताले गुनासो व्यक्त गरेका थिए ।

विगत १० वर्षदेखि उद्योग नवीकरण गर्न नपाएको जानकारी गराउँदै उपभोक्ताले नवीकरणका लागि मागसमेत गरेका थिए । यसैबीच नेपालगञ्जमा डल्फिन रुपको १४औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले व्यावसायिक हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्