चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा पर्यटन थपिँदै गएका छन् । एक दशक अघिसम्म बागलुङको बरेङ गाउँपालिका-३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ ।

धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । त्यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो । पाँच वर्षयता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ । धान्य पूर्णिममा यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब २ हजार धार्मिक पर्यटक त्यहाँ आउने गर्छन् । धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रलायले चालु आर्थिक वर्षमा रु १० लाख र बरेङ गाउँपालिकाले रु १३ लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै, विनियोजित बजेटबाट पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गर्न थालिएको छ । दक्षिण बागलुङको मुख्य धार्मिकस्थल भएको हुँदा त्यहाँ हालसम्म पालिकाले रु १ करोड बढी लगानी गरिसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्ताजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उनको भनाइ छ । देशभरबाट भक्तजन आउने तर त्यहाँको सडक अव्यवस्थित हुँदा दु:ख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माको भनाइ छ ।

‘यस मन्दिर यस क्षेत्रकै ऐतिहासिक धरोहर हो, पहिले सामान्य मन्दिर थियो, यद्यपि भक्तजनको उपस्थिति भने निकै बाक्लो हुन्थ्यो, पछि हामीहरू निर्वाचित भएर आएपछि अघिल्लो कार्यकालदेखि निरन्तर लगानी गर्दै आएका छौँ । भक्तजनलाई लक्ष्य गरी बस्ने भवन, खानेपानी, शौचालयको व्यवस्थापन गर्नुका साथै मन्दिरलाई केही व्यवस्थित गर्यौँ’, उनले भने । त्यसैगरी गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट चालु आर्थिक वर्षमा मन्दिरबाट मैदानसम्मको करिब १ सय १२ मिटर पक्की पदमार्ग निर्माण गरेको निर्माण समितिका अध्यक्ष होमबहादुर श्रीसले बताएका छन् । उद्योग तथा पर्यटन कार्यालय बागलुङसँग सम्झौता गरेर मङ्सिर अन्तिम साता नै पदमार्ग निर्माण गरिसकेको उनको भनाइ छ । भौतिक संरचना थपिएपछि सत्यवती मन्दिरको मुहार नै फेरिएको श्रीस बताउँछन् । मन्दिर व्यवस्थित भएपछि भक्तजन आगमनमा वृद्धि भएको उनको भनाइ छ ।

विषेशगरी गैँडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बुटवल, म्याग्दी, काठमाडौँ, धनकुटा, नेपालगञ्ज र बागलुङका विभिन्न स्थानलगायतका ठाउँबाट तिर्थयात्री आउने उनले बताएका छन् । उनले भने, ‘अहिले मन्दिरसँगै यस क्षेत्रमा धेरै सुधार आएको छ, पहिले मन्दिरमा पूजाआज गर्न आउने मान्छे साँघुरो ठाउँ हुँदा लड्ने, लामो लाइन बस्नुपर्ने बाध्यता थियो । तर, अहिले ठाउँ फराकिलो, पहिलेजस्तो लाइन बस्नु नपर्ने भएको छ । बाहिरबाट आउने मान्छेले गाउँको अवलोकन गर्ने गर्छन्, बाटोघाटो अप्ठ्यारो थियो, एकपटक आएको मान्छे अर्कोपटक आउँदैनथे, अहिले भने पटक-पटक आएर पूजा गर्ने बढेका छन् ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्