प्रधानमन्त्री भन्छन्:-‘सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाएको स्पष्ट पारेका छन् । पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै आइतबार उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।’ उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने जानकारी दिएका छन् । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ । पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’

त्यस्तै, गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ । त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।’ केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गरेका छन् ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्