तनहुँका स्थानीय तहलाई १ अर्ब १० करोड अनुदान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु १ अर्ब १० करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र छ गाउँपालिकालाई रु १ अर्ब १० करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको हो ।

आयोगले आर्थिक वर्ष २०८१-८२ का लागि नेपालको संविधान र प्रचलित कानुनबमोजिम सङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समनीकरण अनुदान सम्बन्धमा सरकारलाई सिफारिस गरेको जनाएको छ । तनहुँलाई आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुदान रकम चालु आर्थिक वर्षको तुलनामा रु ९ करोड ९९ लाख बढी हो । चालु आर्थिक वर्षमा जिल्लालाई रु १ अर्ब ५८ लाख वित्तीय समानीकरण अनुदान प्राप्त भएको थियो । आयोगका अनुसार तनहुँको भानु नगरपालिकाले रु १३ करोड ६१ लाख प्राप्त गर्नेछ । व्यास नगरपालिकाले रु १८ करोड ९ लाख, म्याग्दे गाउँपालिकाले रु ९ करोड ४८ लाख, शुक्लागण्डकी नगरपालिकाले रु १४ करोड ४६ लाख, भिमाद नगरपालिकाले रु १० करोड ९७ लाख, घिरिङ गाउँपालिकाले रु ८ करोड ४१ लाख, ऋषिङ गाउँपालिकाले रु ९ करोड ६१ लाख, देवघाट गाउँपालिकाले रु ८ करोड ७० लाख, बन्दीपुर गाउँपालिकाले रु ८ करोड ७० लाख र आँबुखैरेनी गाउँपालिकाले रु ९ करोड ४१ लाख अनुदान पाउनेछन् ।

यस्तै, आयोगले गरेको मूल्याङ्कनमा यस वर्ष भिमाद नगरपालिका धेरै अङ्क प्राप्त गरी प्रथम भएको छ । भिमादले ४१.७६ प्रतिशत अङ्क प्राप्त गरेको हो । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको छ । यसैगरी समयमै बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पास गरे-नगरेको, राजस्व बाँडफाँट गरे-नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे-नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो । आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे-नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

दश स्थानीय तहमध्ये भिमाद प्रथम हुन सफल भएको छ भने देवघाट गाउँपालिका कमजोर अवस्थामा छ । देवघाट गाउँपालिकाले १६.३७ प्रतिशत अङ्क प्राप्त गरेको छ । यसैगरी भानु नगरपालिकाले २९.६२, व्यास नगरपालिकाले ३४.९९, म्याग्दे गाउँपालिकाले २४.५२, शुक्लागण्डकी नगरपालिकाले २९।२६, घिरिङ गाउँपालिकाले १८.७६, ऋषिङ गाउँपालिकाले ३४.०१, बन्दीपुर गाउँपालिकाले २४.६८ र आँबुखैरेनी गाउँपालिकाले ३५.६८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्