कर्णाली नदीमा हाम फालेका युवक अझै भेटिएनन्

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा चार दिन अघि हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । कैलालीको लम्की-चुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका उनी अझै भेटिएका छैनन् ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो । हालसम्म उनको केही पत्तो नलागेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराज डाँगीले जानकारी दिएका छन् । ‘खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गर्यौँ’, उनले भने, ‘फेला नपरेपछि गोताखोर टोली फर्किएको छ ।’ बेपत्ता शाहीको खोजीका लागि आज पनि प्रहरी र स्थानीयको दुई टोली परिचालन गरिएको छ । दुवै टोलीलाई टीकापुरसम्म परिचालन गरिएको प्रहरी निरीक्षक डाँगीको भनाइ छ ।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए ।

प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्