बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०-८१ को चालु आठ महिनामै रु २ अर्ब ४३ करोड ८ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१-७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु २ अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा बङ्गलादेशतर्फ रु १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ । बङ्गलादेशसँग आर्थिक वर्ष २०७९-८० मा रु ५ अर्ब १८ करोड ९ लाख १३ हजार, आर्थिक वर्षको २०७८-७९ मा रु १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आर्थिक वर्षको २०७७-७८ मा रु ६ अर्ब ५४ करोड ७४ लाख १ हजार, आर्थिक वर्ष २०७६-७७ मा रु ४ अर्ब २४ लाख ८ हजार, आर्थिक वर्ष २०७५-७६ मा रु २ अर्ब ४४ करोड ५० लाख ३७ हजार र आर्थिक वर्ष २०७४-७५ मा रु ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्याङ्क छ ।

यसैगरी, आर्थिक वर्ष २०७३-७४ मा रु २ अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आर्थिक वर्ष २०७१-७२ मा रु १ अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बङ्गलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७०-७१ मा आयातको तुलनामा रु ६० करोड ७७ लाख १२ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । उक्त आर्थिक वर्षमा बङ्गलादेशबाट रु १ अर्ब ४८ करोड ९० लाख ४२ हजार मूल्य बराबरको मालसमान आयात भएको थियो भने नेपालबाट रु २ अर्ब ९ करोड ६७ लाख ५४ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो ।

आर्थिक वर्ष २०६९-७० मा रु ५८ करोठ २७ लाख ४९ हजार, आर्थिक वर्ष २०६८-६९ मा रु १ अर्ब १४ करोड ९० लाख ११ हजार र आर्थिक वर्षको २०६७-६८ मा रु २ अर्ब ३९ करोड ६९ लाख ११ हजार व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ । मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बङ्गलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राखेका छन् । चार वर्षदेखि पूर्वीनाका (स्थलमार्ग)बाट बङ्गलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उनले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमासमेत चलहपहल बढ्ने जनाएका छन् ।

‘कोभिडदेखि काँकरभिठ्ठाबाट बङ्गलादेशी पर्यटक आउन ठप्प भइरहेको छ’, उनले भने, ‘नेपाली अलैँची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बङ्गलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्