वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख ९ हजार ३ सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आर्थिक वर्षमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार ७ सय ८२ सङ्कलन भएको छ ।

महानगरले दोस्रो धेरै घरबहाल करबाट रु ४ करोड ५५ लाख ७५ हजार ८ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आर्थिक वषको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षमा रु २ करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको जनाएका छन् । ‘गत आर्थिक वषको नौ महिनाको तुलनामा यो आर्थिक वषमा राजस्व सङ्कलनमा सुधार देखिएको छ’, उनले भने । गत आर्थिक वषको ९ महिनामा भने रु ३३ करोड ८० लाख ५४ हजार ३ सय ६० राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज महानगरले गत आर्थिक वर्ष भरिमा भने रु ५७ करोड १ लाख ७३ हजार २ सय १ राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आर्थिक वष २०७८-७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार ४ सय ९० राजस्व सङ्कलन गर्यो । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए । ‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ’, उनले भने, ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।’

महानगरले चालु आर्थिक वर्ष २०८०-८१ को लागि रु ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु २ वर्ष ४८ करोड ८५ लाख ५ हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आर्थिक वर्षमा आन्तरिक राजस्वबाट रु १ अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्