तनहुँमा अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँमा यस वर्ष अदुवा उत्पादन बढेको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछिल्लो समय बाँदरले दु:ख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन् । चालु आर्थिक वर्ष २०८०-८१ मा ५ हजार ६ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । चालु आर्थिक वर्षमा ५ सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो । गत आर्थिक वर्ष २०७९-८० मा ५ हजार ६ सय ५४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । सो समयमा ५ सय २२ हेक्टर क्षेत्रफलमा अदुवाखेती भएको हो ।

व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा व्यावसायिक रूपमा अदुवाखेती हुँदै आएको छ । पछिल्लो केही वर्षयता बाँदरले दु:ख दिन थालेपछि किसान अदुवाखेतीमा आकर्षित भएको पाइएको छ । बाँदरले अदुवामा क्षति नपुर्याउने भएकाले किसान यसतर्फ बढी आकर्षित छन् । ज्ञान केन्द्रले मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रममार्फत अदुवा उत्पादक किसानलाई सहयोग गर्ने कार्यक्रम रहेको परियारले बताएका छन् ।

स्थानीय तहले अदुवा उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेपछि पनि किसान अदुवाखेतीमा लागेका छन् । घिरिङ गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गरिरहेको छ । निर्वाहमुखी खेती गरिरहेकालाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक बनाउन खोजिएको जानकारी दिएका छन् । गाउँपालिकाले प्रतिव्यक्ति रु ५ हजारका दरले अनुदान दिँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्