१ सय २ वर्षीय वृद्धसहित २ सय ४३ जनाको आँखाको सफल शल्यक्रिया

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने नि:शुल्क आँखा शल्यक्रिया शिविरमा १ सय २ वर्षीय वृद्धसहित १ सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९-३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्मासहित १ सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो ।

चार वर्षदेखि पूर्ण रूपमा देख्न छाडेका विश्वकर्माले शल्यक्रियापछि पुन: दृष्टि प्राप्त गरेको बताएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।

त्यस्तै, नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा-वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूको भनाइ छ ।

शिविरमा ३ सय ७३ जनालाई नि:शुल्क चश्मा तथा ६ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्