कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान दिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ । कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले सो गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको हो ।

व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरुप तरकारी, फलफूल र दूध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाले ‘टनेल’मा तरकारीखेती गर्ने किसानलाई प्रति टनेल ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छ । पालिकाका छवटा वडामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने किसानलाई प्लास्टिक टनेल वितरण गर्न चालु आवमा रु चार लाख विनियोजन गरिएको उनको भनाइ छ ।

त्यस्तै, बिहादीले फलफूलका बिरुवा पनि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ । व्यावसायिक रूपमा फलफूल खेतीतर्फ आकर्षण गर्ने उद्देश्यले सुन्तला, कागती, आँप, लिचीका बिरुवा वितरण गर्न थालेको हो । बिहादीमा आँप, लिची र कागती राम्रो उत्पादन हुने गरेको छ । यसका लागि किसानले न्यूनतम सुन्तला र कागती १५ बोट, आँप पाँच बोट र लिचीका सात बोट लगाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ । पालिकाको दूध ढुवानीमा अनुदान कार्यक्रमअन्तर्गत प्रतिलिटरको रु पाँचका दरले अनुदान वितरण गरिने भएको हो ।

गाउँमा सञ्चालित कृषि फार्म वा व्यावसायिक किसानलाई प्रोत्साहन गरी कृषि पेसाबाटै आत्मनिर्भर बनाउन अनुदानमूलक कार्यक्रम ल्याइएको बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङ बताउँछन् । उनका अनुसार कृषिमा नै रहन मद्दत पुगोस् भनेर उक्त कार्यक्रम ल्याइएको हो । पूरै अनुदान उपलब्ध गराउँदा किसानले बेवास्ता गर्ने भएकाले किसानको जम्मा २५ प्रतिशत र पालिकाको ७५ प्रतिशत लगानी गर्नेगरी अनुदान दिइने भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्