‘साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ’ : मन्त्री चौधरी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताएकी छिन् । काठमाडौँमा जारी हिमालयन लिटरेचर फेस्टिभल अन्तर्गत न्यू योर्क राइटर्स वर्कसप इन काठमाडौँलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

विश्वका १० देशबाट सहभागी लेखक, साहित्यकार तथा कविहरूलाई नेपालमा स्वागत गर्दै उनले आजको मानवीय आवश्यकताको संरक्षणमा साहित्यको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरिन् ।

‘विश्वमा वातावरण, महिला हक अधिकार, बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक हेरचाह, व्यवहार स्वास्थ्यमा रेखदेख आजको विश्वको माग हो’, मन्त्री चौधरीले भनिन्, ‘यसलाई कविता, लेख, साहित्यको माध्यमबाट जनस्तरमा तपाईँहरू लागिरहनु भएको छ । अझ अभियानको रूपमा लागिदिनुभयो भने विश्वमा विकास, संस्कृतिको सम्मान, मानव, शान्ति र एकताको संसार बन्ने थियो । यसमा तपाईँहरूको ठुलो हात छ । आजैबाट यो विश्व अभियान सुरु गरौँ, म तपाईँहरूको साथमा रहनेछु ।’

उनले यस अभियानले सुन्दर विश्व बनाउन मद्दत पुग्ने भन्दै मानव मानवबीच प्रेम, भातृत्व, आणविक हातहतियार रहित संसार बनेमा पृथ्वीको वातावरणमा पनि ठुलो संरक्षण हुने विश्वास व्यक्त गरेकी छिन् ।

यसले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको समस्यालाई पनि बिस्तारै हटाउने मन्त्री चौधरीको भनाइ थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एक अर्काका परिपूरक हुने भन्दै मन्त्री चौधरीले सबैको सम्मान र अधिकार संरक्षण गर्नु घर परावर देखि राष्ट्र र संयुक्त राष्ट्रसंघको महत्त्वपूर्ण दायित्व रहेको जनाएकी छिन् ।

‘सबैले ध्यान दिएमा मानव संसार सुखी र खुसी हुने थियो । आजको बालबालिका भविष्यको कर्णधार भई समयअनुसार वृद्ध हुँदै जाने हो । यसमा आमा दिदीबहिनी तथा महिलाको दायित्व कति छ । महिला हक अधिकार, स्वास्थ्य, शिक्षा लगायत उनका आधारभूत आवश्यकताहरू पुगेका छन् कि छैनन्’, उनी भन्छिन्, ‘यी कुराहरूलाई पनि तपाईँहरूको कलम मार्फत जुन भूमिका खेल्नुभएको छ त्यसलाई अझ बढाउँदै लैजान आग्रह गर्दछु ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्