वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०:३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई-मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताएका छन् ।

‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०:३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउन अनुरोध गरिन्छ’, उनले भने ।

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियोे ।

यसपछि वर्षात् भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १ सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्