नि:शुल्क उपचार पाए पनि विकलाल परिवारका दु:ख हटेन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दु:ख भने हटेको छैन । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दु:ख बढेको उनका बुबा रामबहादुर थिङले बताएका छन् ।

थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उहाँलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो । अस्पतालले दुई महिना २५ दिन लगाएर रु आठ लाख बढीको उपचार निःशुल्क गरेको गरिदियो । अहिले उहाँ सामान्य हिँङ्डुल गर्न सक्ने हुनुभएको छ । थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो ।

रामबहादुरले भने, ‘हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।’ चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी रु सात लाख ४६ हजार १७० र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी रु आठ लाख ७१ हजार ४ सय ६८ तिर्नुपर्नेमा सबै नि:शुल्क गरिएको जानकारी दिएका छन् । थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च नि:शुल्क गरेको देवकोटाले जनाएका छन् । ‘आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार नि:शुल्क गरेका छौँ’, देवकोटाले भने ।

दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भने, ‘हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।’ रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्छन् । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन । विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उनी पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्