अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् ।

सुरु-सुरुमा आधुनिक हलो पाउनका लागि चासो दिनेहरु अहिले वास्ता गर्न छाडेका छन् । आधुनिक हलोका सट्टा गोरु पाल्न थालेका छन् । ग्रामीण क्षेत्रका भिराला जमिन जोत्न समस्या हुने र गोरुले जोते जस्तो नहुने हुँदा आधुनिक हलोको प्रयोग घट्न थालेको हो । आधुनिक हलोले थोरै समयमा धेरै खेतबारी जोत्न सकिने भए पनि उत्पादनमा ह्रास आएपछि हल गोरु पाल्न थालेको निसीखोला गाउँपालिका-२ का किसान खुमबहादुर कुँवरले बताएका छन् ।

तराईमा आधुनिक हलो उपयुक्त हुने भए पनि पहाडी क्षेत्रमा प्रभावकारी नभएको उनको भनाइ छ । करिब तीन वर्षसम्म आधुनिक हलोले खेतबारी जोतेर बाली लगाउँदै आए पनि उत्पादनमा ह्रास आएपछि हलगोरुनै पाल्न थालेको कुँवर बताउँछन् । आधुनिक हलोले गोरुले जसरी गहिरो हुने गरी नजोत्दा मकैबाली ढल्ने, धानले गतिलो गरी जरा नहाल्दा उत्पादन घटेको उनको भनाइ छ । ‘गाउँमा आधुनिक कृषि प्रणाली अपनाउन थाल्यौँ, मिनिटेल हलो ल्याएर खेतबारी जोत्न काम पनि भयो, तर हाम्रो जस्तो क्षेत्रमा मिनिटेलको प्रभावकारी हुँदो रहेनछ’, उनले भने ।

उनका अनुसार बारीमा कहीँ ढुङ्गा, कहीँ गग्रेटा हुन्छन्, तर आधुनिक हलोले गहिरो गरि नजोत्ने रहेछ र गारुले जोत्दा हलो गहिराईसम्म पुग्ने हुँदा बीउ पनि राम्रोसँग उम्रिने र जरा बलियो हुने रहेछ । ‘मिनिटेलले माथिमाथिको माटो मात्रै उप्काउने हुँदा उत्पादन घट्यो, मैले हल गोरुले जोत्दा १७-१८ मुरी धान फलाउथ्याँ, आधुनिक हलोले जोत्दा तीन वर्षसम्म लगातार उत्पादन घट्यो, त्यही भएर अहिले गोरु पालेर जोत्न थालेको छु’, उनले भने ।

त्यस्तै, पछिल्लो समय बागलुङका धेरै किसानले हल गोरु पाल्न थालेका छन् । कृषि ज्ञान केन्द्र बागलुङ र स्थानीय तहले अनुदानमा दिने आधुनिक हलोप्रति कम चासो दिएको पाइन्छ । जैमिनी नगरपालिका-४ का किसान हर्कबहादुर थापाले आधुनिक हलोभन्दा हलगोरु पाल्दा फाइदा हुने बताएका छन् । गोरु पाल्दा मल र जोत्नका लागि प्रयोग उनको भनाइ छ । करिब चार वर्ष मिनिटेलले बारी जोतेको सुनाउँदै उत्पादन बढाउन नसकेपछि अहिले छोडेर परम्परागत रुपमै हल गोरुले जोत्न थालेको थापाको भनाइ छ । विभिन्न सरकारी सङ्घ संस्थाले आधुनिक हलो अनुदानमा दिए पनि आफूले नलिने उनको भनाइ छ । उन्नत जातका बीउ प्रयोग भने बढ्न थालेको थापाले जनाएका छन् ।

बागलुङको जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले हल गोरु पालि व्यावसायिक रुपमा खनजोत गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिने भएका छन् । बढ्दो यान्त्रिकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि प्रोहोत्सान गर्न किसानलाई अनुदान दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरको भनाइ छ । गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्न आगामी वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ । प्रविधिको विकाससँगै गोरुले जोत्ने परम्परा हराउन थालेपछि यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिइने अध्यक्ष बुढा मगर बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्