बार्सिलोनामा वर्षाका कारण दुई सय जनाभन्दा धेरैको मृत्यु, रेल सेवा अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्पेनको बार्सिलोनामा ठूलो वर्षा हुँदा रेल सेवा अवरुद्ध भएको छ । स्पेनको पूर्वी भागमा गएको हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सय जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो । त्यसपछि पनि निरन्तर आइरहेको पानी र आँधीका कारण बार्सिलोनामा रेल सेवा अवरुद्ध भएको हो ।

स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाको ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रुवाहक रेल सेवा स्थगित गरेको बताएको बीबीसीले जनाएको छ ।

बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनीसहितको सूचना गएको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरबाट टाढा रहन आग्रह गरिएको थियो ।

वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको खबरमा उल्लेख छ । बाढीका कारण धेरै राजमार्ग बन्द छन् ।

यसैबीच भ्यालेन्सियामा अझै पनि भत्किएका र क्षतिग्रस्त संरचना पन्छाएर शवहरूको खोजी भइरहेको छ । नागरिक, स्वयंसेवक र हजारौं सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्न भन्दै अभियान नै सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्