काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वप्रमुखसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वप्रमुख गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।
उनीहरुले नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको अदालतको ठहर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत २०८० मा उनीहरूविरुद्ध आर्थिक हानि–नोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो । सो मुद्दामाथि उनीहरु दोषी ठहर भएका हुन् ।
अख्तियारले बिगो दाबी गरेको १ करोड ८ लाख रुपैयाँ असुलका लागि जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसला पनि गरेको छ । सबैको सजाय १० मंसिरमा निर्धारण गरिने समय अदालतले तोकेको छ । अदालतका अनुसार उनीहरुमाथि कानुन बमोजिम २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मको कैद सजाय हुन सक्छ ।