काठमाडौँ । अस्पतालमा बिरामीको चाप बढेसँगै झापामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए ।
उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको उनले जानकारी दिए । उनले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताए । धेरै युवा वैदेशिक रोजगार र अध्ययनका क्रममा विदेशिँदा रगत सङ्कलनमा कमी हुन थालेको उनको विश्लेषण छ ।
जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८०र८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार पाँच सय ७६ यूनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो । सो अवधिमा तीन हजार युनिट सेतो रगतसमेत खपत भएको छ । रासस