काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टी नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गाना प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्डा झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले ढुङ्गानाको निधन भएको १३ औँ पुण्य तिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसद्वारा जारी शोक प्रस्तावमा स्वर्गीय ढुङ्गानाले मानव अधिकार, न्याय क्षेत्र, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका पुर्याएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै उनले पुर्याएका योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।
पूर्वसभामुख ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भूमिका निर्वाह गरेका थिए ।