काठमाडौँ । लुटपाटमा संलग्न रहेको आरोपमा नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भइ ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन् ।
आफूलाई डाक्टर आलोक बताउने मण्डलले घरमै उपचारको सेवा दिने भन्दै लुटपाट गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीसीसीको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका–४ आरुखर्कबाट बिहीबार पक्राउ गरेको हो ।
उनले ललितपुर महानगरपालिका–१७ भेल्पास्थित ज्ञानराज श्रेष्ठको घरमा डेरा गरी बस्ने ५२ वर्षीय ओलप्रसाद तिमल्सिनालाई शैलीमा उनले लुटपाट गरेको आरोप छ।
फेसबुकमा साथी बनाएर कुरा गर्दै सुगरको बिरामी भए म उपचार गरिदिउँला भन्दै उनी तिमल्सिनाको कोठामा पुगेको प्रहरीले जनाएको छ । त्यसपछि सुगरको औषधी भन्दै बेहोस हुने औषधी खान दिएर लुटपाट गरेको दाबी गर्दै पीडितले प्रहरीमा निवेदन दिएका थिए ।