काठमाडौँ । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । रासस