काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । बुधवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी लिन सरकारी वकिललाई राय दिएको छ । कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ५ हजार ६६९ जना बचकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ जम्मा गरेको भेटिएको छ । केन्द्रीय कार्यालय कालिमाटीमा रहेको सो सहकारीको शाखा न्यूरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा पनि खोलेर आर्थिक कारोबार गरेको भेटिएको छ । रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए ।