काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ ।
परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्नमा जोड्न लागेको हो । ‘विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नुपर्छ । कति लेख्छ भन्ने आधारमा गरिरहेका छौं । त्यसैले आन्तरिक मूल्याङ्नको विधिलाई परिवतर्न गर्ने निर्णय गरेका हौँ,’ मन्त्रीभट्टराईले बताइन् । पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले बताइन् ।
विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात(तरकारी पकाए, भाइ(बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् ।
विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ ।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको हो ।