काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक ल्याएर कुनै पनि दल फुटाउने आफ्नो प्रयास नभएको प्रस्ट पारेका छन् । विपक्षी राजनीतिक दलहरूले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयासमा सरकार लागेको आरोप लगाएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
साथै उनले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताए । उनले केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत र संसदीय दलमा ४० प्रतिशत भन्ने उल्लेख भएको भन्दै उक्त व्यवस्थामा केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न लाग्दा त्यसको विरोध भएपछि आफूले फिर्ता गरेको बताए ।
प्रधानमन्त्रीले केन्द्रीय समितिमा ४० प्रतिशत पुग्न लाग्दा अध्यक्षले अर्को पार्टी खडा गर्ने र एकता गरेर रोक्ने भन्दै अलग्गिन चाहनेले सक्दै नसक्ने बताए ।
प्रचण्ड अल्पमतमा पर्दा नारायणकाजी श्रेष्ठलाई रातारात एकता गरेर बहुमतमा पुर्याएको उदाहरण दिँदै ओलीले संवैधानिक व्यवस्थालाई कार्यान्वयन हुन नदिने वन्देजात्मक कानुन रहेकाले त्यो व्यवहारिक नभएको पनि बताए ।