काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वनस्पति घिउमा हुने ट्रान्स फ्याटको मात्रा बढी भएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
वनस्पति घिउ तथा आंशिक रूपमा हाइड्रोजिनेटेड गरिएको वनस्पति तेल र यस्ता पदार्थ प्रयोग गरी उत्पादन सञ्चय वा बिक्रि वितरण गरिने खाद्य पदार्थमा हुने ट्रान्स फ्याट सम्बन्धी मापदण्ड लागु गर्न विभागले सूचना जारी गरेको हो ।ट्रान्स फ्याट एक प्रकारको स्वास्थ्यका लागि हानिकारक अति चिल्लो पदार्थ हो ।
उक्त व्यवस्था अनुसार हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पति घिउ, हाइड्रोजिनेसन गरिएको वनस्पति तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा नबढेको हुनु पर्नेछ । यस्तै खाद्य पदार्थको लेबलमा ऐन नियम बमोजिम लगाउने लेबल विवरण साथै अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नु पर्ने विभागले जनाएको छ ।