काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ । कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अब दुई दिन पार्टी केन्द्रीय कार्यालयमा गएर नेता, कार्यकर्ताहरूको गुनासो सुन्नुपर्ने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार मन्त्रीहरूसँगको छलफलपछि यस्तो निर्देशन दिइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। ‘मन्त्रीहरू अब सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पनि पुग्नुहुनेछ,’ बैठकका निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘त्यहाँ नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुनेछ, गुनासा सुन्नु हुनेछ। अन्य पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुनुहुनेछ।’
वर्तमान सरकारमा कांग्रेसबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री सहभागी छन्।