काठमाडौँ । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
ज्यान गुमाउनेमध्ये ‘तीन नेपाली’ नागरिक हुन् । हालसम्म नेपाली नागरिकसहित सातजनाको शव पहिचान भइसकेको दैनिक भास्करले जनाएको छ ।
दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ ।
लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो । त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । रेल रोकियो । र, हतारहतार केही यात्रु रेलबाट हाम फालेका थिए ।
त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो ।