राष्ट्रिय सभा बैठकमा सांसदहरुको प्रश्न-‘काठमाडौंवासीले कहिलेसम्म फोहोरसँग पौठेजोरी खेल्ने हो ?’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौं उपत्यकाभित्र थुप्रिएको फोहोरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद गोमादेवी तिमिल्सिनाले भने ,’काठमाडौंमा थ्रुप्रिएका फोहोरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौंवासीले फोहरसँगै पौठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने हो ?’ फोहोरको वर्गीकरण गर्नसक्ने हेटौंडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशीता लागू हुन नसकेको टिप्पणी गर्दै सङ्घीयता कार्यान्वयनमा जोड दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगरौँ भने ।  नेकपा एमालेका सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले व्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले भने “राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी रु ।” नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरुले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने माग गरेका छन् । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्