इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला गरेकी छिन् । ६ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ ।

मञ्जुले भनिन्, ‘एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन । छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन ।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनलेृ बताएकी छिन् । उनि भन्छीन्, ‘राज्यले क्षमता अनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो । त्यो घटना बिर्सने आधार बन्थ्यो । रकम पाएर र सान्त्वनाले मन भुलाउन गाह्रो छ । छोराछोरीको शिक्षा तथा रोजगारीका लागि सरकारसँग आश गरेकी छु ।’

इजरायल घटनामै सुनसरीका राजेश स्वर्णकारको पनि ज्यान गयो । उनको परिवारलाई पनि पीडा भुलाउन मश्किल भएको छ । राजेशकी आमा कैलाशदेवी स्वर्णकार भन्छिन्, ‘खाइनखाइ गरेर बुढेसकालको सहारा होला भनेर छोरा पढाए, छोरो सधैँका लागि बिदा भएर गयो । अब बुढेसकालको सहारा कहाँ गएर खोजौँ राज्यले परिवारको एउटा सदस्यलाई रोजगारी दिएको भए हाम्रा लागि ठूलो राहत हुन्थ्यो । पीडा भुलाउने बाटो बन्थ्यो ।’

चार वर्षको उमेरमा बुबा गुमाएका दार्चुलाका दिपेशराज विष्टको लालनपालन कान्छी आमा जयन्ती विष्टले गरेकी हुन् । जागिरको सिलसिलामा दिपेशकी आमाले बाहिर हुँदा कहिल्यै उनलाई बुबाआमाको अभाव महसुस हुन नदिएकी जयन्तीले विगतबारे बोल्नै सकिनन् । उनी भन्छिन्, ‘म कान्छी आमा भए पनि आमाको अभाव हुन नदिएर हुर्काएको दिपेश कहिल्यै नफर्कने भयो । इजरायलमा ज्यान गुमाएका १० जनाको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले उद्यान निर्माण गरोस् । त्यहाँ उनीहरूको सालिक बन्ने अपेक्षा छ ।’

इजरायलमै ज्यान गुमाएका डोटीका राजन फुलाराका काका टीका १० विद्यार्थीको सम्झनामा क्याम्पसले उद्यान निर्माण गरेर सालिक निर्माण गर्नुपर्ने बताएका छन् । परिवारका सदस्यको शिक्षा र रोजगारीको ग्यारेन्टी गरे राहत मिल्थ्यो । हमासको कब्जामा रहेका विपिन जोशीको सकुसल उद्धार गर्न उनले सरकारसँग माग गरेका छन् । फुलाराले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा राजनको नाममा अक्षयकोष निर्माण गर्ने बताएका छन् । राजनको स्मृतिमा १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष निर्माण गर्ने उनको योजना छ । राजनले अध्ययन गरेका अन्य दुई विद्यालयमा पनि राजन फुलारा स्मृति अक्षयकोष निर्माण गरिने फुलाराले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेश घर भएका सात विद्यार्थीका परिवारलाई प्रतिपरिवार २ लाख सहयोग गरेको छ । त्यसैगरी नेकपा (एमाले) सम्बद्ध प्रवासी नेपाली मञ्च तथा महिला सशक्तीकरण अभियानले पनि मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रवासी नेपाली मञ्चका केन्द्रीय सचिवालय सदस्य डा विमला भण्डारीको पहलमा प्रतिपरिवार १ लाख ४० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । सोही घटनामा घाइते भएका चार जनालाई ४० हजारका दरले उपचार खर्च सहयोग गरेको उनले जानकारी दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्यायले क्याम्पसले दश विद्यार्थीको स्मृतिमा उद्यान निर्माण गर्ने निर्णय गरिसकेको बताएका छन् । उनले भने, ‘क्याम्पसले उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश विद्यार्थीको हमासको आक्रमणमा परेर गत असोज २० गते ज्यान गएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्