Skip to content

गर्भनर अधिकारीविरुद्ध शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

कालोपाटी

२ वर्ष अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि अधिकारीको योग्यता नपुग्ने दाबी गरिएको छ । ऐन अनुसार गभर्नरका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको पनि सर्वोच्चमा दायर गरिएको रिटमा उल्लेख छ ।

यस्तै, अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । योग्यता विपरीत गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्नुपर्ने रिट निवेदक अधिवक्ताको माग छ ।

गभर्नर अधिकारी विरुद्धको रिटमा सर्वोच्च अदालतले आजर रिट दर्ता गर्दै शुक्रबार बिहान १० बजेका लागि  पेशी तोकेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेमा व्यवस्था छ । तर, चाटर्ड एकाउन्टेन्टलाई स्नातकोत्तर मान्न नसकिने निवेदकहरुले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्