काठमाडौँ । फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार ५ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षपछि पक्राउ गरेको हो ।
विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताएका छन् । उनले भने, ‘घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । यो प्रहरीको सफलता हो ।’ उनका अनुसार ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट विभिन्न घटनामा संलग्न फरार प्रतिवादीलाई यही पुस २२ गते पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ का ५० वर्षीय कृपाराज राई, सोही ठाउँका ४६ वर्षीय नगेन्द्रकुमार राई, ५५ वर्षका विदुरकुमार राई, ५४ वर्षका भिमराज राई र ४२ वर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्रलाई धरान, विदुरलाई उदयपुरको बेलका, भिमराजलाई उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रनाउ पाठकले जानकारी दिएका छन् । घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । हत्याका मुख्य प्रतिवादी शुक्रदेव राई फरार रहेको अवस्थामा मृत्यु भइसकेको जानकारी आएकाले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रहरीका अनुसार २०५० साल मङ्सिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साविक कोट गाउँविकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । विसं २०६१ भदौ २८ गते जिल्ला अदालतले शुक्रदेवलाई २० वर्ष र घटनामा संलग्न अन्य सहयोगीलाई तीन वर्ष कैदको सजाय सुनाएको थियो । विसं २०५० कात्तिक २७ गते लक्ष्मी पुजाका दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दै राजधनलाई समेत कुटपिट गरेको थियो ।
सो घटनाका विषयमा मङ्सिर ३ गते छलफल गरी मिलाउने क्रममा पुन:विवाद भई राजधनलाई कुटपिट गर्दा शुक्रदेवले खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको प्रहरीको घटना विवरणमा उल्लेख छ ।