राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा देशभरका २ सय १ खेलाडी प्रतिस्पर्धामा

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ ।  मध्यपुरथिमिमा सुरु भएको २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा देशभरका २ सय १ खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २६ गते सम्पन्न गर्नेगरी सुरु गरेको प्रतियोगितामा २१ जिल्लामा खेलाडीले प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०-१० स्वर्णका लागि प्रतिस्पर्धा सुरु भएको जनाउँदै उनले प्रतियोगितामा सहभागिता रहेका देशभरबाट आएका खेलाडीलाई खाना र बसोवासको व्यवस्था सङ्घले नै गरेको बताएका छन् । करिब  ८६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता अन्तरराष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियाली भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियमानुसार खेलाइएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कूल २ सय ७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत तथा ९० कास्यसहित २ सय ७० गरी कूल ५ सय ४० पदकका लागि प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा विभिन्न चार तौल समूहमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १ सय २, १ सय ९ र १ सय ९ किलोमाथि, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १ सय २ र १ सय २ किलोमाथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ किलोमाथि तथा युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्