काठमाडौँ । बागलुङ नगरपालिका-१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी पञ्चेबाजा संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्रछात्रा अध्यनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गरेका छन् ।
विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन् भने बिदाको समय सिकाउनेसमेत गर्दै आएका छन् । कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का बिहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याम्को बजाउँछन् । कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछिन् । कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन् ।
त्यस्तै, कक्षा ३ मा अध्यनरत आयन परियार र कक्षा ४ मा अध्यनरत बिहान परियार (ख)ले दमाहा बजाउने गरेका छन् । उनीहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुरले जानकारी दिएका छन् । पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ । बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताइन् । सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ ।
सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उनले बताइन् । अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उनको भनाइ छ । विद्यालयमा बाजा बजाउने अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा सङ्कलन अभियान सुरु गरेको जनाएका छन् ।