काठमाडौँ । ‘गौशाला २६’को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । संखुवासभाको चिचिला गाउँपालिकाका ३२ वर्षीय केशरमान राईलाई तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमार्फत् नाम ठेगाना र तस्बिर सार्वजनिक गरी मानसिक आघात पुर्याएको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।
ब्युरोले उनलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिनको म्यादसमेत थपेको छ । आफ्नो तस्बिर सार्वजनिक गर्नेविरुद्ध ‘गौशाला २६’ले केही दिनअघि प्रहरीमा उजुरी दिएकी थिइन् ।