काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल बङ्गलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ ।
सो प्रभावकाकारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँक भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशभर चिसो बढिरहेको हुँदा यसको असरबाट बच्न जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।