सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायतका विषयमा छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं नि:शस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले बिहीबार भेट गरेकी छन् । सो भेटका अवसरमा दुवैबीच हतियार नि:शस्त्रीकरणमा राष्ट्रसङ्घ तथा नेपालले गरेका प्रयास, साना र हलुका हतियारसम्बन्धी कार्ययोजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायत विषयमा छलफल भएको हो ।

उक्त अवसरमा सभामुख घिमिरेले नि:शस्त्रीकरण मामिलामा राष्ट्रसङ्घले गरेका विश्वव्यापी प्रयासको सरहाना गरेका छन् । ‘मलाई विश्वास छ कि एसिया-प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियारसम्बन्धी कार्ययोजनासम्बन्धी चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ’, सभामुख घिमिरेले भने, ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’ उनले सन् १९५५ डिसेम्बर १४मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्रसङ्घसँगको साझेदारीलाई महत्व दिँदै आएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसङ्घ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको उनको भनाइ छ । सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य देशको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तको समर्थन गर्ने जनाएका छन् ।

उपमहासचिव नाकामित्सुले नेपालको संसद्ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरेका छन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसद्ले गृहकार्य गर्ने जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्