काठमाडौँ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच एक सहकारीले बहुआयामिक उत्पादनलाई सेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको हो ।
सहकारीले बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो । तीन वर्षयता बागलुङ नगरपालिका-४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । त्यसैगरी तितौरेमा दुई रोपनी जग्गामा अदुवाखेती गर्दै आएको छ । सहकारीले उत्पादन गरेको बेसारलाई यस वर्षदेखि ब्रान्डिङ गरेको छ । सहकारी संस्थाले वार्षिक २० क्विन्टल उखु बिक्री गर्दै गरेको थियो । यस वर्ष सहकारीले १ लाख बराबरको बेसार बिक्री गरेको र अन्य बीउलाई सदस्यमा सापटी दिएको सहकारीका कोषाध्यक्ष तथा कुँडुलेका अगुवा कृषक जग्गन्नाथ सापकोटाले जानकारी दिएका छन् ।
‘सहकारीले बेसारखेती गर्न थालेको दुई वर्ष भयो, यस वर्षबाट बेसार बिक्री गर्न थालेका छौँ । एक लाख बराबरको बेसारलाई ब्रान्डिङ गरेर बिक्री गर्यौँ, अन्य बेसार सोही जग्गामा लगायौँ भने बाँकी बीउ पुँजीका लागि सदस्यलाई वितरण गरिएको छ । वितरण गरेको बीउ अर्को वर्ष सहकारीलाई नै फिर्ता गर्नु पर्दछ ।’ उनले भने, ‘तितौरेमा दुई रोपनी जग्गामा अदुवा उत्पादन गर्दै आएका छौँ । सहकारीले कृषिउपजको बजारीकरणसँगै सदस्यलाई कृषिमा आत्मनिर्भर गराउनका लागि अदुवा र बेसारको बीउ सापटी दिने प्रचलन हाम्रो सहकारीमा छ ।’
सहकारीका ८ सय सेयर सदस्यमध्ये अधिकांश सदस्य कृषक भएकाले उनीहरुलाई अदुवा र बेसारको बीउ वितरण गर्दै आइएको छ । सहकारीले तीन ठाउँमा उखु, बेसार र अदुवा उत्पादन गर्दै आएको छ । बेसार र अदुवाको बीउ सदस्यलाई वितरण गरिन्छ भने बाँकी रहेको बेसार र अदुवा बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा दुई रोपनी जग्गामा सहकारीले नै अदुवाखेती गर्दै आएको छ ।
यस्तै, सहकारीले ठूलो परिणाममा उत्पादन गर्न नसके पनि सदस्य लक्षित उत्पादन गरिरहेको सहकारीका अध्यक्ष चूडामणि उपाध्यायले बताएका छन् । उपाध्ययका अनुसार गत पुसमा आयोजना गरिएको साधारणसभामा बेसारलाई मायाको चिनोका रुपमा अतिथिलाई दिइएको थियो । ‘सहकारीका सदस्यलाई कृषिमा प्रोत्साहन गर्ने हाम्रो नीति छ । अहिले सापटी बीउ दिने, थपेर फिर्ता लिने र बजारमा अर्को वर्ष बिक्री गर्ने नीति ल्याएको छ’, अध्यक्ष उपाध्ययले भने, ‘सुरुसुरुमा सदस्यलाई बीउ दिनेगरी मात्रै उत्पादन गर्यो । सदस्यबाट फिर्ता आउन थालेपछि यस वर्षदेखि ब्रान्डिङ गरेर बिक्री गर्न थालेका छौँ ।’ बेसालाई पिसेर ब्रान्डिङको काम यस वर्ष सुरु भएको छ । पहिलो वर्ष रु ५० हजारको बेसार बिक्री गरेको छ । बर्सेनि बेसार र अदुवाको उत्पादनका लागि सदस्यलाई सापटी बीउ दिने र थपेर सदस्यले फिर्ता गर्ने नीति लिइएको उपाध्यायको भनाइ छ । बिक्री गर्न नसकेका किसानको उत्पादनसमेत खरिद गरेर बजार खोज्ने काम सहकारीले गर्दै आएको छ ।
सहकारीले पाँच केजी अदुवाको बीउ सापट दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई कृषिमा प्रोत्साहन गरिरहेको छ । सहकारी संस्थाको शेयरपुँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी योजनाबद्ध ढङ्गले अघि बढेको छ ।