काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।
तराई-मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर चिसो बढि रहेको हुँदा यसको असरबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ । बिहीबार सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।