मूलपानी नगर अस्पतालमा दैनिक १० घण्टा ओपिडी सेवा उपलब्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा सञ्चालित मूलपानी नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग (ओपिडी)सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए ।

उनले भने, “हामीकहाँ बहिरङ्ग अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौंँ । यदि कोही डा खाली भएमा पौने ६ बजेसम्म टिकट काटेर जाँच गर्छौंँ ।” उनकाअनुसार यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गर्छन् । “कार्यविधि बनाएरै प्रत्येक दिन एक सय ५० जना बिरामीको उपचार गर्छौँ,” मेडिकल अधिकृत रम्तेलले बताए ।

अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए । सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तरोउन्नति प्रक्रियामा रहेको उनले बताए । उनकाअनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ ।

स्याटलाइट ओपिडी सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका–१ गागलक्षेत्रका स्थानीय लाभान्वित भएको उनले सुनाए । दुर्गम गागल क्षेत्रमा स्थानीय तहद्वारा सञ्चालित “मेयरसँग ज्येष्ठ नागरिक” र “मेयरसँग बालबालिका” कार्यक्रम अति उपयोगी भएको डाक्टर सुवेदीको भनाइ छ । यी कार्यक्रमबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचारसँगै अल्ट्रासाउण्ड, इसिजी, औषधिलगायतका निःशुल्क सुविधा प्राप्त गरेका छन् ।

अस्पतालको सेवा सन्तोषजनक रहेको सेवाग्राही सीतादेवी खड्काले बताए । अस्पताललले १० घण्टा बहिरङ्ग सेवा दिँदा सेवाग्राहीलाई सहज भएको स्थानीय भीमराज खड्काले बताए। रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्