काठमाडौँ । दुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ ।
कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् । कुवेती नागरिकको घरबाट भागेर उनी प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि उनी ४ मंसिर २०८० मा नेपाल फर्केर प्रहरीमा जाहेरी दिएकी थिइन् ।