Skip to content

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने तयारीमा काठमाडौं महानगर

कालोपाटी

४ दिन अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि महानगरले आज आइतबारदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण सुरु गरेको छ।

महानगरका अनुसार ३२ वटै वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका नर्सहरूलाई परिचालन गरी घरघरमै स्वास्थ्य स्क्रिनिङ गरिँदैछ। नर्सहरूलाई वीर अस्पतालबाट चारदिने अभिमुखीकरण तालिम दिइसकिएको छ। सर्वेक्षणका क्रममा रक्तचाप, तापक्रम, श्वासप्रश्वास, अक्सिजनको मात्रा जाँचिनुका साथै औषधि सेवनको अवस्था र बसोबासको वातावरणसमेत मूल्यांकन गरिनेछ।

प्रारम्भिक जाँचपछि आवश्यक परे सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा उपचार गराइने र त्यहाँ सम्भव नभए वीर अस्पतालमा रिफर गरिने महानगरले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चको भार नपर्ने गरी एक लाख रुपैयाँसम्मको निःशुल्क बीमा कार्यक्रम लागू गरिएको छ।

पहिलो चरणमा प्रत्येक वडामा दैनिक ५ देखि ७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य स्क्रिनिङ गरिने र यो कार्यक्रम जेठको अन्तिमसम्म सञ्चालन गर्ने योजना छ। महानगरका अनुसार यस सर्वेक्षणले ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी तथ्यांक संकलनमा सहयोग पुग्ने र भविष्यका कार्यक्रम तय गर्न आधार प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार