Skip to content

हाम्रो बारेमा

समृद्धिको सपना बोकेर जेनजीको दाइ पुस्ताले संघर्षको पहिलो अक्षर ‘क’ लेखेको पाटी, अर्थात कालोपाटी । १२ खरी अध्ययनको पहिलो सारथी कालोपाटी । सिकाईको पहिलो आड, सिक्दै गर्दा लेख्ने, र नमिलेपछि मेटेर फेरि लेख्ने, जीवनजस्तै सिकाईको पहिलो अभिभावक कालोपाटी । त्यहि कालोपाटीको नाममा हामी सञ्चार जगतमा लेख्न बाँकी केहि लेख्न आएका हौँ । सिक्दै, सिकाउँदै सञ्चारको नयाँ पाठशालामा हामी ‘सत्यको मुखपत्र’ बन्न आएका छौँ ।

हाम्रो नाम सुन्ने बित्तिकै कतिलाई अर्को एउटा पाटी नामको अनलाइन आएछ भन्ने पनि लाग्यो होला । तर, हामी फगत विभिन्न पाटीमा रंगहरुको भीडमा अर्को रंग थप्न आएका होइनौं । बरु, धुमिलिदै गएको सञ्चार विश्वसनीयतालाई थप बलियो बनाउन तपाईं हाम्रै पुस्ताले सबैभन्दा विश्वास गरेको सिकाई आरम्भको भरोसा, कालोपाटीको नामको सहायता लिएका हौँ ।

अव प्रश्न उठ्छ, यो भीडमा कालोपाटी किन ? कसका लागि ? यसमा नयाँ के हुन्छ ?
हामी प्रष्ट छौँ, हामी यो वा त्यो दल विशेष वा पार्टीको पाटी, सत्यको मुखपत्र बन्न आएका छौँ । समाचारको पहुँच त हातहातमा आज पनि थियो, हामी त समाचारको अन्तरकुन्तर भन्न आएका छौँ । फलानो नेताले यसो गर्नुभयो, ढिस्कानो नेताले उसो गर्नुभयो भन्ने समाचारको भीडमा हामी फलानो नेताले देशका लागि के गर्नुभयो ? भन्ने प्रश्न सोध्न आएका छौँ ।

अहिलेको यो सञ्चार समयमा जनताले मिडियामाथि प्रश्न गरिरहेका छन् । अझ नागरिक आवाज छ, के तिमी ‘बायस्ड’ त छैनौ ?
सञ्चार सत्यताको कसम खाएर भन्नुपर्दा हामी जेनजीका माग पूरा गर्न खबरदारी गर्ने सवालमा जेनजीका तर्फबाट ‘बायस्ड’ हुन सक्छौँ । मूलधार भनिएकाहरुले नलेखेका, नबोलेका जेनजीका आवाजहरु हाम्रा पहिलो प्राथमिकता हुन् । पूराना दललाई पनि गाली गरेर होइन, खबरदारी गरेर, राम्रोलाई राम्रो पनि भनेर हामी जेनजी अभियानमा साथ दिन आएका छौँ ।

हामी युवाका आवाज बोल्नेछौँ । तथ्यको तलासी गर्नेछौँ । जेनजीको मागमा सारथी हुनेछौँ, सत्यको मुखपत्र बन्नेछौँ । बाँकी त, तपाईंको ताली वा गाली दुवै सुन्न, मनन गर्न तयार नै भएर आएका छौँ । र आजबाट नयाँ व्यवस्थापन, नयाँ शैलीको प्रयास, नयाँ केहि गर्ने हुटहुटीलाई साक्षी राखेर, जेनजी सहिदहरुलाई सम्झेर सुरु गर्दैछौँ, कालोपाटी डटकम, कालोपाटी अर्थात सत्यको मुखपत्र ।