काठमाडौँ । डोजर चलाएर सुकुम्वासी र भूमिहीनलाई बिचल्ली पारेको भन्दै झापा क्षेत्र नं -५का भूमिहीन सुकुम्वासी आन्दोलित बनेका छन् ।
आफूले जिताएर पठाएको व्यक्ति नै प्रधानमन्त्री बनेपछि सुकुम्वासी र भूमिहीनहरूलाई बिचल्ली पारेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह झापा ५ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । शाहलाई निर्वाचित गराएको दुई महिना नबित्दै त्यहाँका मतदाताले उनी विरुद्ध दिनहुँ नारा जुलुस गर्दै आएका छन् । बुधवार झापा ५ को मुख्य सहरी क्षेत्र दमकमा सुकुम्वासीहरूले सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरे ।
उनीहरूले अर्को बन्दोबस्त नमिलाई वर्षौँदेखि बसोबास गरी रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठिबास गराउन नहुने बताए ।
अखिल नेपाल सुकुमबासी सङ्घको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो ।
यस अघि झापा ५ मानै पर्ने कमल गाउँपालिकामा समेत सुकुम्वासीहरूले जुलुस सहित विरोध प्रदर्शन गरेका थिए ।
भूमि अधिकार तथा श्रमिक सङ्गठनको आयोजनामा कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरूले सोमबार विरोध र्याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।
झापाकै बिर्तामोडमा पनि सुकुम्वासीहरू आन्दोलित बनेका छन् । उनीहरू बसोबास गरी रहेको स्थानबाट जबरजस्ती उठाउनु खोज्न मानवीयता विपरीतको कार्य भएको समेत जनाएका थिए । सुकुम्वासी संयुक्त सङ्घर्ष समितिले र्याली प्रदर्शन गरी स्थानीय सरकारलाई बसोबास गरेकै स्थानमा भूमि स्वामित्व दिलाउन समेत माग गरेका छन् ।
सुकुम्वासीका पक्षमा स्थानीय तह
झापा क्षेत्र नं -५का स्थानीय तहका प्रमुखहरूले सङ्घीय सरकारको सुकुम्वासी बस्तीमा डोजर चलाउने अभियानको विरुद्धमा उभिएका छन् ।
उनीहरूले सुकुम्बासीहरुलाई संघिय सरकारले भने पनि डोजर चल्न नदिने भन्दै आश्वस्त पनि पारेका छन् ।
दमक नगरपालिकाका मेयर रामकुमार थापाले प्रहरी र प्रशासन कार्यालयबाट सुकुम्वासीको विवरण उपलब्ध गराउन गरेको पत्राचार प्रति पनि आक्रोश व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘स्थानीय सरकार भनेको जन निर्वाचित निकाय हो, यो कुनै प्रशासन र प्रहरी मातहतको प्रहरी चौकी होइन । जनप्रतिनिधिमूलक निकायमा यस ढङ्गबाट पत्र पठाएर निर्देशन दिने काम बन्द गरियोस्, यो जनभावना विपरीत छ ।’
उनी आफै सुकुम्वासीहरुका बस्तीमा पुगेर समेत स्थानीय सरकारले कुनै पनि नागरिकको घरबार नउठाउने भन्दै आश्वस्त पार्दै आएका छन् ।
यस्तै यही झापा ५ कै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि सुकुम्वासी बस्तीमा डोजर नचलाइने प्रस्ट पारेका छन् । विगतका आयोगले अपेक्षाकृत काम गर्न नसक्दा भूमिहीनहरू अधिकारबाट वञ्चित भएको उल्लेख गर्दै उनले लालपुर्जा दिलाउने तर्फ ध्यान दिन सङ्घीय सरकारलाई आग्रह पनि गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्