Skip to content

ट्रम्पविरुद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर

कालोपाटी

३६ मिनेट अगाडि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ‘ट्रुथ सोसल’मार्फत सरकारी नीतिसम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।

समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा ‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’ र समाचार संस्था ‘द इन्टरसेप्ट’ले ट्रम्पविरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनीहरुले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मिडिया एन्ड टेक्नोलोजीले सञ्चालन गर्ने ‘ट्रुथ एपीआई’ सेवामार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र सञ्चारमाध्यमले हेर्नुअघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दाबी गरेका छन् ।

अमेरिकी नीति, युद्ध, भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान समयमा पहुँच हुनुपर्ने उनीहरुको भनाइ छ । यो सेवाको शुल्क प्रतिमहिना १ लाख अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ ।

‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’का एड्भोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफैं सिर्जना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्‍याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ ।

तर ट्रम्प मिडियाले आरोप अस्वीकार गरेको छ । कम्पनीले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दाबी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार